एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमा र रक्षक फर्लान्ड मेन्डीको गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेलाई २–० ले पराजित गरेको छ ।
अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा रियलले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै सहज जित निकालेको हो । चोटका कारण मुख्य खेलाडी टोलीमा नरहेपनि रियलले सहज जित निकाल्न सफल भयो ।चोटका कारण टोलीमा कप्तान सर्जियो रामोस, टोनी क्रुस, लुकास भाज्क्वेज, फेड भाल्भेर्डे, इडर मिलिसाओ, ड्यानी कार्भाजल, इडेन हाजार्ड, रोड्रिगो र अल्भारो ओर्डिजोला टोलीमा थिएनन् ।
बल पोसेसनमा खेलको सुरुवात देखि नै पकड जमाएपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए ।६६औं मिनेटमा डिफेन्डर फर्लान्ड मेन्डीले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले अर्काे डिफेन्डर तथा टोलीको कप्तानी गरिरहेका मार्सेलोको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।
यो जितसँगै रियल २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा ५ अंकले पछि छ । यद्दपि एट्लेटिकोले दुई खेल कम खेलेको छ । पराजित गटोफे २४ अंक जोडेर १३औं स्थानमा छ ।