१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

काठमाडौँ — विश्वमै दुर्लभ हिउँचितुवाको विचरण क्षेत्र र उसको आनीबानीबारे अध्ययन गर्न शे–फोक्सुन्डो निकुञ्जमा यस वर्ष थप दुईवटा हिउँचितुवामा जीपीएस स्याटेलाइट कलर जोड्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि निकुञ्जले बजेटसहितको ‘अपरेसनल म्यानुअल’ स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरेको छ ।

आगामी चैतमा कलर जडान गर्न प्रस्ताव गरिएको साल्दाङ क्षेत्रको नक्साबाट निकुञ्जले हालै विभागका पेस गरेको म्यानुअलमा यो वर्ष शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङ क्षेत्रका दुई हिउँचितुवामा स्याटेलाइट कलर जडान गरिने उल्लेख छ । ऐतिहासिक शे–गुम्बा आसपासको क्षेत्रका हिउँचितुवामा रेडियो कलर जडान गर्न निकुञ्जले प्रस्ताव गरेको छ । एघारौं शताब्दीमा बनेको शे–गुम्बा र फोक्सुन्डो ताललाई मिलाएर २०४० सालमा निकुञ्ज स्थापना भएको हो । हिउँचितुवाको घनत्वका हिसाबले यो निकुञ्जलाई राम्रो मानिन्छ ।‘साल्दाङ क्षेत्रको निसालगाउँ नजिक (७५ वर्ग किमि क्षेत्र) हिउँचितुवामा कलर जडान गर्न सकिने देखिन्छ,’ निकुञ्जले विभागमा पेस गरेको प्रस्तावमा भनिएको छ, ‘प्रस्तावित क्षेत्र नेपाल–तिब्बतको सीमाबाट १०–१५ किमिको दूरीमा छ ।’ निकुञ्जले प्रस्ताव गरेको लोकेसननजिक नसालगाउँ, लुरीगाउँ, याङ्जेर गुम्बा, किगाउँ र तिलिङलगायतका बस्ती छन् । आहारको खोजीमा हिउँचितुवा मानव बस्तीनजिक आउजाउ गर्ने भएकाले उक्त क्षेत्रलाई प्रस्ताव गरिएको हो ।

डोल्पाका हिउँचितुवाबारे पहिलोपटक जर्मनीमा जन्मेका जर्ज बिल्स स्यालरले अध्ययन गरेका हुन् । सन् १९७३ तिर उनी पोखराबाट ढोरपाटन हुँदै हिउँचितुवा अध्ययनका लागि उपल्लो डोल्पा गएका थिए । स्यालरले फोक्सुन्डो ताल र शे–गुम्बा क्षेत्रमा हिउँचितुवाका पाइला (पगमार्क) पछ्याएर अध्ययन गरेका थिए । त्यसको १३ वर्षपछि अमेरिकी वन्यजन्तुविज्ञ रोड्नी ज्याक्सनले पहिलोपटक रेडियो कलर जडानमार्फत हिउँचितुवाको अध्ययन गरे । त्यो विश्वमै पहिलोपटक थियो ।

सामलिङ नामक हिउँचितुवा जीपीएस कलर जडान गरिनुअघि ।स्याटेलाइट कलरका लागि डब्लूडब्लूएफ नेपालले आर्थिक र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले प्राविधिक सहयोग गर्ने म्यानुअलमा उल्लेख छ । दुईवटा हिउँचितुवामा कलर जडानका लागि १ करोड ९ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान छ । २०७६ कात्तिक–मंसिरमा पनि निकुञ्जको भिजेर क्षेत्रमा दुई हिउँचितुवामा स्याटेलाइट कलर जडान गरिएको थियो । त्यतिबेला पनि एक करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो, त्यो रकम डब्लूडब्लूएफ नेपालले नै सहयोग गरेको थियो । एक करोड ९ लाखमध्ये त्यहाँ खटिने जनशक्तिको डीएसए खर्चमा ३६ लाख ६० हजार, फिल्डको लजिस्टिकमा ४४ लाख ९५ हजार र रिचर्स इक्विपमेन्टलगायतमा २८ लाख ३१ हजार ५ सय रुपैयाँ खर्च हुनेछ ।सरकारले २०७५ भदौ २१ मा अनुसन्धान प्रयोजनका लागि मध्य र पश्चिम भागका १२ वटा हिउँचितुवामा कलर जडान गर्ने निर्णय गरेको थियो । त्यसमध्ये शे–फोक्सुन्डो निकुञ्जका ४ वटामा कलर जडान गरिने भनिएको थियो । त्यसैले यो वर्ष थप दुईवटामा जडान प्रक्रिया अघि बढाइएको हो । २०७६ कात्तिकमा कलर जडान गरिएको ‘जेबोरोङ’ (३–४ वर्ष) र ‘सामलिङ’ (६–८ वर्ष) नामका हिउँचितुवा भने मृत भेटिएका थिए । जोबोरोङ गत वैशाखमा कु गाउँमा र सामलिङ, कात्तिकमा भिजेरको भीरमा मृत भेटिएका हुन् । कलर जडानपछि जेबोरोङबाट १६९ दिन र सामलिङबाट १९२ दिनसम्म स्याटेलाइट कलर चिप्समार्फत सन्देश प्राप्त भएको थियो ।शे–फोक्सुन्डोमा रेडियो कलर जोड्नुअघि सरकारले डब्लूडब्लूएफ नेपालकै आर्थिक सहयोगमा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रका ५ वटा हिउँचितुवाको घाँटीमा रेडियो कलर जडान गरेको थियो । कलर जडानपछि कञ्चनजंघाका हिउँचितुवाको आउजाउ चीनको कोमोलाङमा नेचर रिजर्भ र भारतको कञ्चनजंघा नेसनल पार्कसम्म हुने गरेको थाहा भएको थियो । कलर जडानपछि हिउँचितुवाले हिँडेको क्षेत्रफललगायत गतिविधि पत्ता लगाउन प्राविधिकलाई सहज हुन्छ ।शे–फोक्सुन्डो निकुञ्जमा २०७६ मा गरिएको रेडियो कलर जडानले उक्त क्षेत्रमा हिउँचितुवाको घनत्व कञ्चनजंघामा भन्दा बढी रहेको प्रस्ट्याएको एक प्राविधिकले बताए । ‘शे फोक्सुन्डो क्षेत्रमा प्रति १ सय वर्ग किमिमा हिउँचितुवाको घनत्व ४.६ रहेको देखिन्छ,’ निकुञ्जको प्रतिवेदनमा भनिएको छ, ‘जबकि सन् २०१७ मा कञ्चनजंघामा गरिएको अध्ययनले प्रति १ सय वर्ग किमिमा हिउँचितुवाको घनत्व १ मात्र थियो ।’

हिउँचितुवामा विद्यावारिधि गरिरहेका कमल थापाका अनुसार नाउर र झारल उसको मुख्य आहार हो । शे–फोक्सुन्डोमा नाउर बढी छन् । चितुवाले गाई, चौंरीका बाच्छाबाच्छी, च्याङ्ग्रा, फ्याउ मुसा र कस्तुरी मृगलाई पनि सिकार गर्छ । लजालु स्वभावको हिउँचितुवा नेपालसहित अफगानिस्तान, पाकिस्तान, चीन, किर्गिस्तान, कजाकस्तान, ताजकिस्तान, उज्वेकिस्तान, रुस, भुटान, भारत र मंगोलिया गरी १२ देशमा पाइन्छ । विश्वभर हिउँचितुवाको संख्या करिब ३ देखि ६ हजार अनुमान गरिएको छ । पुरानो तथ्यांकअनुसार नेपालमा करिब ५ सय हाराहारीमा हिउँचितुवा रहेको अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]