प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष ०७८/७९ मा १० प्रतिशतको आर्थिक वृद्धि पुग्ने बताएका छन् । प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने भनिरहेका प्रधानमन्त्री ओलीले आगामी आवमा मुलुकको आर्थिक वृद्धि दोहोरो अङ्कले बढ्ने दाबी गरेका हुन् ।
सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन पुनर्निर्माणपछि शुभारम्भ गर्दै सरकार गठन भएको ३ वर्षको अवधिमा सरकारले गरेका महत्त्वपूर्ण कार्यक्रमको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।आफूले सरकारको नेतृत्व लिएका बेलामा अर्थतन्त्र भद्रगोल अवस्थामा रहे पनि त्यसलाई एक वर्षभित्रै पुनः ट्रयाकमा ल्याएको उनले बताए । सरकार गठन भएको पहिलो वर्षदेखि नै अर्थतन्त्रले सही बाटो लिन थाले पनि गत वर्ष देखापरेको कोभिड महामारीले विश्व अर्थतन्त्र गम्भीर संकटमा परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
कोभिड महामारीका कारण विश्वका कतिपय देशको आर्थिक वृद्धिदर नकारात्मक रहे पनि सरकारको सुझबुझपूर्ण कार्यका कारण नेपाली अर्थतन्त्रमा धेरै नकारात्मक असर नपरेको प्रधानमन्त्रीको दाबी छ ।नेपालमा पनि कोभिड महामारीको कारण अर्थतन्त्रमा नकारात्मक असर परे पनि चालु आर्थिक वर्षको ६ महिना बितेदेखि नै अर्थतन्त्रले लय समाउन थालेको उनको भनाइ छ । अर्थतन्त्रले गति लिन थालेको, आर्थिक क्रियाकलाप बढेको जस्ता कारणले चालु वर्षको आर्थिक वृद्धिदर औसत ५.५ प्रतिशतको हुने र अर्को वर्ष राष्ट्रिय योजना आयोगको १५ औं योजनाले लक्ष्य लिए अनुसार १० प्रतिशतको हुने प्रधानमन्त्री ओलीको दाबी छ ।
यस्तै उनले बेलायती पत्रिका दि इकोनोमिस्टले नेपाली अर्थतन्त्र उच्च आर्थिक वृद्धिदर समातेका मुलुकमा परेको उल्लेख गरेको बताउँदै आफूले उल्लेख्य काम गरेको बताएका छन् । ‘अर्थतन्त्रको सबै क्षेत्रको वृद्धि ५ प्रतिशतभन्दा बढी भयो, सातै प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी भयो । केही मुलुकको अर्थतन्त्र नकारात्मक भयो, तर हाम्रो आर्थिक वृद्धिदर घटे पनि सरकारको सुझबुझका कारण मन्दीको चपेटामा परेन’, उनले भने ।