उदयपुर – साँझ परेपछि आँखा नदेखेको धेरै भएको थियो। दिउँसै रात परेजस्तो धमिलो देखिन्थ्यो। त्यसैले बेलैमा ओछ्यानमा पस्थे रौतामाई गाउँपालिका–२ भुट्टारका भरतसिंह खड्का।
९६ वर्षीय उनी भन्छन्, ‘अब त उमेर र आँखा दुवैले साथ दिन छोड्यो, काम गर्न सक्न छोडेँ।’ तर, आँखाले प्रस्ट देख्न सके अझै काम गर्ने हिम्मत छ खड्कालाई। उनको जस्तै समस्या छ ८९ वर्षीय छिमेकी खड्गबहादुर मगरको। विगत ५ वर्षदेखि उनी प्रस्ट आँखा देख्दैनन्। उमेर ढल्किएका खड्का, मगर जस्ताको जोशजाँगर बढाउन गाउँपालिकाले नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर राख्यो। शिविरमा खड्का र मगरजस्ता ज्येष्ठ नागरिकसहित ६ सय ७८ जनाले सेवा लिए। विगत १० वर्षदेखि मोतियाबिन्दुबाट ग्रसित खड्काको घरआँगनमै सफल शल्यक्रिया भएको छ। पुरानै अवस्थाको आँखाको ज्योति पाउने भएपछि निकै खुसी देखिएका उनले भने, ‘आँखा मात्र देख्न सक्ने हो भने धेरै काम गर्न सक्छु।’
शिविरमा रौतामाई गाउँपालिकाका ४६ पुरुष र ४५ महिलाले मोतियाबिन्दुको शल्यक्रिया गराए। पहिलो पटक आयोजना गरिएको यस्तो सेवाबाट स्थानीय निकै खुसी छन्। ‘गरिबको पनि दिन आउँछ भन्थे, हो रहेछ। निःशुल्क रूपमा घरछेउबाटै उपचार पायौँ’, ८९ वर्षीय खड्गबहादुर मगरले भने। आँखा अस्पतालका सात स्वास्थ्यकर्मीको टोली तीन दिनसम्म खटिएको थियो। शिविरमा अपेक्षा गरिएभन्दा बढी सेवाग्राही आएका टोली प्रमुख एवं अस्पतालका प्रबन्ध निर्देशक डा. कमल खड्काले बताए।
उनले भने, ‘पहाडी क्षेत्रमा मोतियाबिन्दु, जलबिन्दु, आँखाको नानीमा फुलो पर्ने र मासु पलाउने समस्या धेरै देखियो, जुन हामीले सहज रूपले उपचार गर्यौ।’ शिविरमा गाउँपालिकाका ७ वटा वडाका बिरामीले सेवा लिएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले जानकारी दिए।