प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भोलि बुधबार बस्ने भनिएको जिल्ला सभापतिसहित अगुवा नेताको भेला स्थगित भएको छ ।
पार्टी विधान र नेपालको संविधान दुवै संकटमा पर्दै गएको भन्दै कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराउन पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि जिल्ला सभापतिहरु बैठक बस्ने तय गरिएको थियो ।कांग्रेसको विधानअनुसार फागुन ७ गते महाधिवेशन गरिसक्नुपर्ने थियो । अब संविधानअनुसार ६ महिना मात्र समयावधि थप्न पाइनेछ । प्रधानमन्त्रीले संसद् विघटन गरेपछि संविधानसमेत संकटमा परेको भन्दै बहस भइरहेको छ । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको सोमबार साँझ बसेको जिल्ला सभापतिहरुले बैठकले भोलि केन्द्रीय समिति बैठक आह्वान गरिएकाले जिल्ला सभापतिहरुको बैठक स्थगित गरिएको हो ।
काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिएअनुसार जिल्ला सभापतिहरुको भेलाको महत्वलाई मध्यनजर गर्दै सभापति शेरबहादुर देउवाले भोलि केन्द्रीय समिति बैठक आह्वान गरेकाले जिल्ला सभापतिहरुले भेला स्थगित गरेका हुन् । कांग्रेसको विधान र देशको संविधान संकटमा पर्दै गएको अवस्थामा केन्द्रीय समिति बैठकले नै छलफल गरी आगामी दिशा निर्देश गर्ने अपेक्षासहित भेला स्थगित गरिएको जिल्ला सभापति आचार्यको भनाइ थियो ।केन्द्रीय समिति बैठकले महाधिवेशनबारे ठोस निर्णय लिने अपेक्षा गरिएको भन्दै पौडेल पक्षीय जिल्ला सभापतिहरुले बताएका छन् । साथै संसद्को पुनस्र्थापना कि निर्वाचन भन्नेबारेमा पनि कांग्रेसले ठोस निर्णय लिनुपर्ने उनीहरुको भनाइ छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भने सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरे पनि निर्वाचनमा जाने बाटो खोले पनि कांग्रेस स्वीकार गरी अघि बढ्ने बताउँदै आउनुभएको छ ।