काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चतालाई तलमाथि हुन नदिएको बताएकी छिन् ।सर्वोच्चले संविधानको रक्षा गरिदिएकाले मुलुक संकटतर्फ जानबाट जोगिएको उनले बताइन् ।
कान्तिपुरसँगको कुराकानीमा उनी भन्छिन् :
सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चतालाई तलमाथि हुन दिएन । संविधानको रक्षा गरिदियो । मुलुक संकटतर्फ जानबाट रोकियो । निरंकुशतावादीलाई संविधानबाहिर जान दिएन । जोकोही अधिनायकवादीलाई गलत र असंवैधानिक कदम चाल्नबाट रोक्न चेतावनी पनि हो । संविधानका हरेक धारा परीक्षण हुने भनेको सर्वोच्च अदालतबाटै हो, त्यही भयो ।यो फैसला संविधानको पक्षमा, सार्वभौम जनताको पक्षमा र समग्रमा संविधान र कानुनको पक्षमा आयो । संकटबाट मुलुकलाई पार लगाउन यो फैसला ऐतिहासिक सावित हुनेछ ।
शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्यका निकाय कसैले पनि तलमाथि गरे भने सर्वोच्च अदालतबाट करेक्सन हुन्छ भन्ने स्पष्ट सन्देश पनि हो ।