स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि साविक विजेता युभेन्ट्सले इटालियन सिरी‘ए’ फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युभेन्ट्सले रेलिगेसनको चपेटामा रहेको क्रोटोनलाई ३–० गोलले हरायो ।
युभेन्ट्सको जितमा रोनाल्डोसँगै वेस्टन म्याककेनीले एक गोल गरे । जितसँगै युभेन्ट्स तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा सानदार प्रदर्शन गरेको युभेन्ट्सले ३८औं मिनेटमा खाता खोलेको थियो ।रोनाल्डोले अलेक्स सान्ड्रोको पासमा हेड गोल गर्दै टोलीको उत्साह जगाए । रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा एरोन राम्सेको पासमा लगातार दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । रोनाल्डो यस सिजन सिरी‘ए’ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमा छन् । उनले १८ गोल गरिसकेका छन् । पहिलो हाफमै जितको आधार तय गरेको युभेन्ट्सका लागि वेस्टन म्याककेनीले ६६औं मिनेटमा गोल गर्दै सानदार जित दिलाए । खेलभर युभेन्ट्सको दबाब खेपेको क्रोटोनले गोल गर्न लायक अवसर बनाउन सकेन । जितसँगै युभेन्ट्सले शीर्ष टोली इन्टर मिलानसँगको दूरी आठ अंकमा झारेको छ । युभेन्ट्सले २२ खेलबाट ४५ अंक बनाएको छ ।
एक खेलबढी खेलेको इन्टर मिलान ५३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ४९ अंक छ । युभेन्ट्ससँग पराजित क्रोटोन १२ अंकसहित तालिकाको अन्तिममा छ ।