काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु पुष्टि भएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा र दानाहरु नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले अनलाइनखबरलाई बताए ।
संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उनको भनाइ छ । अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको र केहीबेरमा बिस्तृत जानकारी सार्वजनिक गरिने पनि प्रवक्ता ढकालले बताए ।तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकाेटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको अनलाइनखबरलाई बताए ।कुखुरापालक व्यवसायीहरु कमल गाैतम, सरिता शाह, सम्झना ठकुरी तिवारी, अमृत थापा र शान्ता खनालकाे फर्ममा पालिएकाे बाेइलर, लेयर्स र चल्लामा कुखुरा संक्रमण भेटिएकाे सापकोटाले बताए ।तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।
यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए । ‘मैले पनि भर्खरै सुनेँ, पशु सेवाका साथीहरू बैठकमा छन्, केहीबेरमा पिस्तृत विवरण सार्वजनिक गर्छाैं,’ प्रवक्ता घिमिरेले भने ।