दाङ – सरकारले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरे पनि दाङका जनप्रतिनिधिहरु खोप लगाउन अनिच्छुक देखिएका छन् ।
कोरोना विरुद्धको खोप लगाउन जिल्लाका जनप्रतिनिधिहरु अनिच्छुक देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार दोस्रो चरणमा जिल्लाका १० वटा स्थानीय तहका ५ सय ८० जना जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम भए पनि करिब ४० प्रतिशत जनप्रतिनिधिले मात्र खोप लगाएका हुुन् ।जिल्लामा करिब ६० प्रतिशत जनप्रतिनिधिहरु विभिन्न बहानामा खोप लगाउन नचाहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए । ‘दाङमा ५ सय ८० जना जनप्रतिनिधिलाई खोप लगाउने कार्यक्रम थियो’, कोभिड–१९ रोग विरुद्धको खोप अभियान जिल्ला समन्वय समितिका सदस्य सचिवसमेत रहेका प्रमुख शाहीले भने, ‘तर अभियानका क्रममा दुई सय ४५ जनाले मात्र खोप लगाउनुभयो । ३ सय ३५ जनाले लगाउनुभएन ।’
उनका अनुसार कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशका १२ जिल्लामध्ये दाङ पहिलो स्थानमा छ । ‘यो हिसाबले जिल्लामा खोप अभियान राम्रै मान्न सकिन्छ’, प्रमुख शाहीले भने, ‘तर जनप्रतिनिधिहरुको सहभागिता भने कम देखिएको छ ।’जोखिमपूर्ण समूहमै रहेका जनप्रतिनिधिहरु नै कोरोनाविरुद्धको खोप अभियानमा सहभागी नहुँदा जनतामा राम्रो सन्देश नजाने शाहीले बताए । दोस्रो अभियानअन्तर्गत जिल्लामा फागुन २ गतेदेखि १० गतेसम्म कोरोनाविरुद्ध खोप लगाइएको थियो ।कोरोनाविरुद्धको खोप अभियानमा प्रहरीको पनि सहभागिता पनि उत्साहप्रद नदेखिएको शाहीले बताए । जिल्लामा रहेका करिब एक हजार प्रहरीमध्ये ७ सय १० जना प्रहरीले खोप लगाएको उनको भनाइ छ ।नेपाल पत्रकार महासंघ दाङ शाखाले स्वास्थ्य कार्यालयलाई कोभिड–१९ विरुद्धको खोप लगाउने ३ सय सदस्य संख्या दिए पनि अहिलेसम्म करिब ५० प्रतिशतले मात्रै खोप लगाएको उनले बताए ।
जिल्लामा पहिलो र दोस्रो चरणमा गरी ७ हजार ८ सय ७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । जसअन्तर्गत पहिलो चरणमा ३ हजार ५ सय ४६ जना र दोस्रो चरणको खोप अभियानमा ४ हजार ३ सय ३३ जनाले खोप लगाएको उनले बताए ।पहिलो चरणमा गत माघ १४ गतेदेखि २४ गतेसम्म अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीलगायतलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा फागुन २ गतेदेखि १० गतेसम्म सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।
तेस्रो चरणमा ६४ हजार बढीलाई खोप लगाइने :
कोभिड–१९ विरुद्धको तेस्रो खोप अभियानअन्तर्गत जिल्लामा फागुन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । जसअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहका विभिन्न लक्षित समुदायका ६४ हजार ५ सय ७७ जना व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।
जसअन्तर्गत घोराही उपमहानगरपालिकामा १७ हजार ८ सय १९ जना, तुलसीपुर उपमहानगरपालिकामा १६ हजार १ सय ८४ जना, शान्तिनगर गाउँपालिकामा ३ हजार ७ सय ७६ जना, दंगीशरण गाउँपालिकामा २ हजार ६ सय ८७ जना, बबई गाउँपालिकामा ३ हजार ४ सय ८१ जना, लमही नगरपालिकामा ४ हजार ८ सय ६६ जना, गढवा गाउँपालिकामा ३ हजार ४ सय २९ जना, राजपुरमा २ हजार ९ सय ५ जना, बंगलाचुलीमा ३ हजार ९ सय ९५ जना र राप्ती गाउँपालिकामा ५ हजार ४ सय ३५ जनालाई खोप लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख शाहीले बताए ।
त्यसका लागि जिल्लाका विभिन्न स्थानीय तहमा ८९ वटा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । तेस्रो चरणमा ५५ वर्षभन्दा माथिका नागरिक, शिक्षकलगायतका समूहहरुलाई राखिएको कार्यालयले जनाएको छ ।