नेकपाको प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवम् प्रेस संगठन नेपालका इन्चार्ज योगेशकुमार भट्टराईले लामो संघर्ष र आन्दोलनपछि प्राप्त भएको संविधानमाथि सरकारबाटै हस्तक्षेपको प्रयास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
हेटौंडामा सोमबार आयोजित प्रचण्ड–माधव पक्ष निकट प्रेस संगठन नेपालकोे दोस्रो प्रादेशिक भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले सरकारबाटै बारम्बार संविधान मिच्ने प्रयास भइरहेको भन्दै प्रेस संगठनले यसको रक्षाको लागि लड्नुपर्ने बताए ।सरकारी सञ्चार माध्ययमहरुले सरकारको गुणगान मात्रै गाउने नभई आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने उनको भनाइ छ । सञ्चारमाध्यम र पत्रकारिता सधैँ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा हुनुपर्नेमा उनले जोड दिए ।नेपाल कम्युनिष्ट पार्टीले गलत काम गर्ने नेतृत्वलाई बारम्बार त्याग्दै आएको अवगत गराउँदै अब पनि गलत नेतृत्वलाई त्याग्नुपर्ने अवस्था आएको उनले बताए । ‘नेपाल कम्युनिष्ट पार्टीले हिजोको दिनमा बारम्बार गलत काम गर्ने नेतृत्वलाई छोडेको र अहिले पुनः सोही अवस्था आएको छ । वर्तमान नेतृत्वलाई छोड्नुपर्ने देखिएको छ,’ उनले भने ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूर्ण स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुने भएकोले प्रतिगमनको विपक्षमा रहनुपर्ने उल्लेख गरे । भेलालाई सम्बोधन गर्दै प्रेस संगठन नेपालका सह–इन्चार्ज ओम शर्मा र सह–संयोजक विष्णु रिजालले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको र वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि नै प्रहार गर्न खोजेको प्रस्ट पारे ।भेलाले बागमती प्रदेश समिति र प्रदेशका १० वटा जिल्लाका संयोजक, सह–संयोजक र सचिव मनोनित गरी सपथ गराएको छ । उनीहरुलाई प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहालले पद र गोपनीयताको सपथ गराएका हुन् ।
प्रेस संगठन बागमती प्रदेशका संयोजक सुनिल खड्काको अध्यक्षतामा भएको भेलाले बागमती प्रदेश घोषणापत्रसमेत जारी गरेको छ ।