वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनाको अन्त्यसम्ममा सबै वयस्क अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप पाइसक्ने बताएका छन् ।
अमेरिकाले यसअघि जुलाई अन्त्यसम्म सबै वयस्क नागरिकलाई खोप उपलब्ध हुने घोषणा गरेको थियो । बाइडेनले यसअघि घोषणा गरिएको भन्दा दुई महिनाअघि नै सबैले खोप पाउने भए पनि खोप अभियानको समय बढाइने जनाएका छन् ।राष्ट्रपति बाइडेनले कोरोना भाइरसविरुद्धको युद्ध निकै लामो रहेको भन्दै जनतालाई ‘निकै सचेत’ रहनसमेत आग्रह गरेका बीबीसीले उल्लेख गरेको छ । तर बाइडेनको भनाइविपरीत अमेरिकाका कतिपय राज्यले भने लकडाउनलाई खुकुलो पार्दै लगेका छन् । अर्थतन्त्र ओरालो लागेको भन्दै केही राज्यले लकडाउन हटाउँदै लगिएको जनाएका हुन् ।
टेक्सास राज्यका गभर्नरले मंगलबार एक कार्यकारी आदेश जारी गर्दै मार्च १० देखि अधिकांश प्रतिबन्धहरू हटाइएको जनाएका छन् । ‘अब टेक्सासलाई शतप्रतिशत खुला गर्ने समय आएको छ,’ रिपब्लिकनहरूले भनेका छन्, ‘धेरै साना व्यवसायीले उनीहरूको खर्च धान्न निकै संघर्ष गर्नुपर्ने अवस्था आइसकेको छ ।’त्यसैगरी, मिसिसिपी, मिसिगन, साउथ क्यारोलिना, मासाचुसेट्स, सिकागो, सान फ्रान्सिस्कोलगायत राज्यले अधिकांश व्यवसायहरू खुला गरेका छन् । तर स्वास्थ्य अधिकारीहरूले महामारीको अन्त्य अझै निकै टाढा रहेको भन्दै लकडाउन खुकुलो पार्न नहतारिन आग्रह गरेका छन् । सोमबार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशकले ‘अमेरिकामा चौथो चरणको संक्रमण’ चेतावनी दिएका थिए ।
अमेरिकामा बुधबार साँझसम्म ७ करोड ६० लाख मानिसलाई खोप दिइसकिएको छ । यो अमेरिकाको जनसंख्याको १५.३ प्रतिशत हो । बाइडेनले आफूले राष्ट्रपतिको पदभार ग्रहण गरेको सय दिनभित्र १० करोड अमेरिकीलाई खोप दिइसक्ने वाचा गरेका थिए । जुन पूरा हुने देखिएको छ । अमेरिकामा हाल दैनिक १७ लाख ४० हजार जनालाई खोप दिँदै आइएको छ ।अमेरिकामा हालसम्म २ करोड ८७ लाख जनाभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये ५ लाख १४ हजार जनाभन्दा बढीको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
अमेरिकाको हेल्थ मेट्रिक्स एन्ड इभालुएसन इन्स्टिच्युटले जुन १ सम्ममा थप ९० हजार जना भाइरसको संक्रमितको मृत्यु हुने अनुमान गरेको छ ।