अष्ट्रेलियाविरुद्धको ५ वटा खेलको टि-२० सिरिजमा न्युजिल्यान्डले बाजी मारेको छ । पाँचौँ तथा अन्तिम खेलमा रोमाञ्चक जितसँगै न्युजिल्यान्डले सिरिज ३-२ ले जितेको हो ।
न्युजिल्यान्डले सुरुका दुई खेल जित्दै सिरिजमा २–० को अग्रता बनाएको थियो । तर, अस्ट्रेलियाले लगातार दुई खेल जित्दै सिरिजमा २–२ को बराबरी गर्दै पुनरागमन गरेपछि सिरिजको विजेता अन्तिम खेलबाट घोषणा भएको हो ।आजको खेलमा अष्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य न्युजिल्यान्डले २७ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गरेको थियो । आज बिहान विलिङटनमा भएको खेलमा न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ७१ रन बनाए ।
जम्मा ४६ बल खेलेका गुप्टिलले ७ चौका र ६ छक्का प्रहार गरे । न्युजिल्यान्डका डिभोन कनवे ३६ रनमा आउट हुँदा ग्लेन फिलिप्स ३४ रनमा नटआउट रहेका थिए । अस्ट्रेलियाका लागि रेलि मेडिथले दुई विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर १४२ रन बनायो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाउँदा कप्तान आरोन फिन्चले ३६ रनको योगदान गरे ।
मार्कस स्टोनिसले २६ तथा मिचेल मार्सले १० रन जोड्दा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका लागि इश सोडीले तीन विकेट लिँदा टिम साउथी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिए ।