काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहकार्य नहुने स्पष्ट पारेका छन्।
माओवादी केन्द्रसँग सत्ता सहकार्यबारे छलफलपछि बाहिरिने क्रममा उनले भने, ‘ओलीको सर्वसत्तावाद परास्त गर्ने विषयमा छलफल भएको छ, बैठक सकारात्मक छ, ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य हुँदैन।’उनले प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत विषयलाई कार्यान्वयन गरे धन्यवाद मात्रै दिन सकिने बताए। सरकारसँग वार्ता सकारात्मक भएको कुरा बाहिर आएपनि सत्ता सहकार्य भने नहुने उनले दाबी गरे। ओली नेतृत्वको सरकार हटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू सहमति नजिक पुगेको पनि यादवले बताएका छन्। यसबारे चाँडै निस्कर्षमा पुग्ने उनको भनाइ छ।
यस्तै, अर्का अध्यक्ष महन्थ ठाकुरले पनि वार्ता सकारात्मक भएपनि माग पूरा नहुँदासम्म कसैसँग सत्ता सहकार्य नहुने बताएका छन्।