सप्तरी – नेपालमा मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ जना पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
नेपालमा पहिलोपटक २०७६ साल माघ १० गते चीनको वुहानबाट फर्किएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएको झण्डै ४ महिनापछि जेठ ३ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । संक्रमणका कारण नेपालमा एकजना चिनियाँ नागरिकले पनि ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।