सरकारले चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरूआत गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक २ औषधि खुवाउने भएको हो ।रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. प्रकाशप्रसाद साहले हात्तीपाइले रोगबाट बच्नका लागि १२ जिल्लामा औषधि खुवाइने जानकारी दिए । उनका अनुसार अभियान १ हप्तासम्म सञ्चालन हुनेछ उनका अनुसार झापा, धनकुटा, मोरङ, वारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने छ । औषधि खुवाउनका लागि ५ हजार ४०० स्वास्थ्यकर्मी र ९ हजार ५०० महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिने उनले जानकारी दिए ।
नेपालमा करीब ३० हजार हात्तिपाइले रोगी रहेका छन् । यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि ती औषधि खुवाइरहेको छ । हात्तीपाइले रोग संक्रमण पाथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यसरोग लागेपछि मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरीरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।
किटजन्य शाखा प्रमुख डा. साहले रोगको लक्षण देखिसकेपछि निको पार्न नसक्ने भएकोले रोग लाग्न नदिन नै यस रोगबाट बच्न उत्तम उपाय भएको बताए ।हात्तीपाइले रोग शुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठूलो खालको सुन्निने, छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अंगमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।
विश्वमा कूल जनसंख्याको ८५ करोड ६० लाख मानिस हात्तीपाइले रोगको जोखिममा रहेको तथ्यांक रहेको छ ।