भरतपुर – सधै हवाईजहाजको ओहोरदोहोरले निकै रमाईलो अनुभूति गर्न सकिने भरतपुरको यो एयरपोर्ट एरीया अहिले चकमन्न देखिन्छ । हवाईजहाज बस्दा र उड्दाको आवाजले ध्यान उतैतिर खिच्दा सबैको आँखा जहाजभएतिरै खिचिन्थ्यो ।
तर, चितवनको यो भरतपुर बिमानस्थलमा हवाईजहाज नदेखिएको पनि पाँच दिन भईसकेको छ । चितवनमा गत शुक्रवार देखि आकाश तुवालोले डम्म छ । सवारी साधनहरु समेत कमै गुडेको देखिन्छ ।बाक्लो तुँवालोको कारण भिजिविलिटीमा समस्या हुँदा उडान भर्न नसकिएको भरतपुर नागरिक उड्यान कार्यालयका प्रमुख योगेन्द्र कुँवरको भनाई छ । बाह्रै घण्टा ब्यस्त हुने यो भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका गरी १५ भन्दा बढी उडान हुँदासमेत भ्याईनभ्याई हुन्थ्यो । तर, यसरी उडान ठप्प हुँदा भरतपुर विमानस्थललाई मात्रै दैनिक लाखौ रुपैया नोक्सान भइरहेको छ ।
बुद्ध एअरका भरतपुर शाखा प्रमुख भक्तबहादुर बस्नेतलाई मोवाइल फोन उठाउन भ्याई नभ्याई छ । उडान खुल्यो ? कहिले देखि खुल्छ भन्ने यात्रुको प्रश्नले हैरान भएका उहाँलाई अहिले सम्म यतिका दिनसम्म प्रकृति अनुकुल नहुँदा उडान ठप्प भएको थाहाछैन् । तर, यस पटकको घटनाले उहाँलाई समेत अचम्म त बनाएको छ नै, कोरोनाको कारण लामो समय थलिएको हवाईक्षेत्र अहिले यसरी ठप्प हुँदा अझै कहिले खुल्ने हो अत्तो पत्तो छैन ।विष्णु खरेल आमाको उपचारका लागि काठमाडाै जानको लागि एयरपोर्ट ओहोरदोहोर गरेको पनि तीनदिन भई सक्यो । विहानै घाम लागेकाले मौसम सफा हुन्छ की भनेर विमानस्थल आइपुग्नुभएको उहाँ उडान बन्द नै रहेको थाहा पाएसँगै निराश देखिनुहुन्छ । तराईका जिल्लामा देखिएको बाक्लो हुँस्सु र तुवाँलो कहिलेदेखि फाट्ने हो र आकाश सफा देखिने हो, मौसमविद्लाईसमेत थाहा छैन् । धुवाँधुलो र तुुवालोले डम्म आकाश ढाकीदा उडान बन्द मात्र हैन, भरतपुरको जनजीवन पनि धुमिल झै देखिन्छ ।
बनमा डढेलो लागेर बाक्लिएको तुँवालो हट्न अझै केही दिन लाग्न सक्छ । कहिले पानी पर्ला र तुवाँलो हट्ला भनि विमान कम्पनी संचालक, यात्रु तथा विमानस्थलका कर्मचारीसमेतका आँखा आकाशतिरै सोझीएको झै देखिन्छ । तर, अहं, तुवाँलो नहट्दासम्म र प्रकृतिले मानवको कुरा नबुझ्दासम्म अझै उडान कहिले सम्म प्रभावित होला यसै भन्न सकिदैन ।