रोजगारका लागि दक्षिण कोरिया गएका नेपाली युवकको मृत्यु भएको छ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेतको चौकुने गाउँपालिका–४ बिजौराका गगन रावलको सोमबार राति मृत्यु भएको हो ।
उनी दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत थिए । कोरिया बसाइको ४ वर्ष १० महिना पूरा भएर नेपाल फर्कनै लागेका थिए । रावल ९ दिनपछि नेपाल फर्कने तयारमिा थिए । नेपाल फर्कनका लागि टिकटसमेत लिइसकेका उनी सोमबार दिउँसो काम गरी सुतेका थिए । कोरियाली समयअनुसार राति करिब २ः३० बजे उनी एक्कासी चिच्याएका थिए । त्यसपछि उनीसँगै बस्ने सहकर्मीले हेर्दा रावल बेहोस अवस्थामा थिए । तत्काल कम्पनी मालिकलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल लगिएकोमा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले जानकारी दिए ।