पछिल्लो ६ महिनामा आगलागीबाट मात्रै एक अर्ब रुपैयाँबराबरको क्षति भएको छ ।
गृह मन्त्रालयका अनुसार पछिल्लो ७ दिनमा मात्रै १ सय १७ ठाउँमा आगलागी भएको छ भने ६ जनावरको मृत्यु भएको छ ।धेरैजसो वन डढेलोका घटना भएको मन्त्रालयले बताएको छ । यही कारण काठमाडौं उपत्यकालगायत क्षेत्रमा प्रदूषणको मात्रा उच्च भएको छ भने सरकारले चार दिनका लागि शैक्षिक संस्था बन्दसमेत गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सूचना अधिकृत मालती पन्तले पछिल्लो समय आगलागीका घटना बढ्दै गएको बताउँदै यसलाई कम गर्नका लागि प्राधिकरणले जनचेतना कार्यक्रम लागू गर्दै आइरहेको बताइन् ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले वनमा लगाइएको डढेलोका कारण घर, गोठ तथा अन्य भौतिक संरचनाको विनाश भइरहेको बताए । “गृह मन्त्रालयले आगलागीबाट भएको क्षति विवरण निकाल्छ । तर अहिलेसम्म वन डढेलोका कारणमात्रै कति क्षति भयो भन्ने गकिन तथ्यांक ल्याउन सकेको छैन,” उनले भने ।
एक अध्ययनअनुसार नेपालमा वन डढेलो लाग्ने कारणमध्ये चौपाया (भेडा, बाख्रा, गाई, गोरु, भैंसी, खच्चर, घोडा आदि) चराउने गोठालाबाट सबैभन्दा बढी र कृषि जमिन मलिलो बनाउन जमिनका पातपतिंगर पोल्ने (डढाउने) क्रममा लाग्ने आगलागी सबैभन्दा कम भएको देखिन्छ । मानवीय क्रियाकलाप बाहेक प्राकृतिक कारणबाट वनमा आगो सल्कन गई लाग्ने डढेलोलाई प्राकृतिक वन डढेलो भनिन्छ ।
यस प्रकारको डढेलो चट्याङ पर्दा, ढुंगा पल्टिँदा ठोकिएर हुने घर्षणबाट, रुख बिरुवाको हाँगाबिंगा एक आपसमा जोडले ठोकिँदा हुने घर्षणबाट, ज्वालामुखी वा ठूलो भूकम्प जाँदा निस्कने आगोको घर्षणबाट हुने गरेको पाइएको छ ।
वन तथा भू–संरक्षण विभाग र ईसिमोडले गरेको एक अध्ययनअनुसार वन डढेलोको जोखिमका हिसाबले नेपालका १३ जिल्ला अतिसंवेदनशील र ११ वटा जिल्ला संवेदनशील छन् ।सामान्यतया वन डढेलो जाडो (डिसेम्बरदेखि जनवरी) मा सुरु भई गर्मी÷मनसुन अवधि (मार्चदेखि अप्रिल) सम्म ८० प्रतिशत लाग्ने गरेको छ । सबैभन्दा बढी भने चैत मध्यदेखि वैशाख मध्यसम्म लाग्ने गरेको छ । पूर्वी तराईमा मार्च र पश्चिम तराई तथा शिवालिक पहाडमा अप्रिल महिनामा बढी धेरै दिन डढेलो लाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।