कोरोना भाइरस सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कतारमा तीन र रुसमा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताए ।कतारमा पछिल्लो समय कोरोना संक्रमण त्रिब्र रुपमा फैलिरहेको छ । यहाँ पछिल्लो २४ घण्टा ९१० जनामा संक्रमण देखिएको छ भने ४८९ जना उपचारपछि निको भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारमा थप तीन संक्रमितको पनि मृत्यु भएको छ । ४४, ४५ र ५८ वर्षीय नागरिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ४४१ पुगेको छ ।मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ५७८ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४४२ जनाको आईसीयूमा उपचार भैरहेको छ ।हालसम्म ३०६ जनाले ज्यान गुमाएका छन् । थप तीन नेपालीको मृत्यु भएसंगै कतारमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २१ पुगेको छ ।
अहिलेसम्म कतारमा ९ लाख ३४ हजार ८४३ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।
मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन अनुरोध गरिरहेको छ ।