काठमाडौं – पछिल्लो केही सातादेखि राजधानी काठमाडौं लगायत देशका विभिन्न भागको वातावरण नराम्ररी प्रदूषित भएको छ ।
राजधानी काठमाडौंले त विश्वकै सबैभन्दा प्रदूषित राजधानीको कीर्तिमान नै कायम गरेको छ ।पछिल्लो केही सातादेखि अत्यधिक मात्रामा वातावरण प्रदूषण हुनुलाई देशका विभिन्न भागका जंगलमा लागेको डढलोलाई मुख्य कारण बताइएको छ ।
डढेलोकै कारण राजधानी काठमाडौंको हावामा समेत खरानी मिसिएको अनुभव गरिएको छ भने बाहिर हिंड्दा आँखा पोल्ने समस्या वपन तिब्र रुपमा बढेको छ ।यसैबीच राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दर शर्माले देशका विभिन्न जंगलमा लागेको डढेलौ अझै डेढ महिनासम्म रहने अनुमान गरेका छन् ।
शर्माका अनुसार नेपाल अबको डेढ महिनासम्म डढेलोको उच्च जोखिममा रहेको छ ।शर्माले यसका लागि सम्बद्ध पक्ष सचेत हुन आग्रह गरेका छन् ।
लामो समय पानी नपरेर सुक्खा लागेको स्थानमा लागेको डढेलो सहजै अन्यत्र सर्ने क्रम बढेको पनि शर्माको भनाइ छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा नौ वर्षको अवधिमा सबैभन्दा बढी यो वर्ष धेरै डढेलोका घटना भएको पाइएको छ ।वि.सं. २०६९ कार्तिकदेखि २०७७ चैत्रसम्म छ हजार ४१५ डढेलोका घटना भएका छन् ।
प्राधिकरणका अनुसार २०६९ सालमा ४० जिल्ला प्रभावित भएर ३७९ घटना भएकोमा २०७७ साल कार्तिकदेखि चैत्रसम्म छ महिनाको अवधिमा दुईहजार ७१३ घटना भएका छन् ।
यो अवधिमा ७३ जिल्ला प्रभावित भएका छन् ।२०७६ सालमा डढेलोका घटना कमि हुँदै ४० जिल्लामा मात्र प्रभावित भएको देखिन्छ भने २०७७ मा उक्त संख्या बढेर नेपालका ७३ जिल्ला नै प्रभावित भएको छ ।
हाल डढेलोको घटना बढेर दुई हजार ७१३ सम्म पुगेको प्रधिकरणले जनाएको छ ।