अष्ट्रेलियाको पश्चिमी प्रान्त वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधी सेरोजाको प्रकोप देखिएको छ । यसको असर एक हजार किलोमिटर वरपरको क्षेत्रमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उक्त आँधीको प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको समाचारमा उल्लेख छ । आइतबारको ठूलो आँधीहुरीपछि वेस्टर्न अष्ट्रेलियाको केलबारी सहरनजिकै पहिरो गएको छ ।अहिले आँधी मत्थर भएको छ । तर, अझै पनि तीव्र वेगको आँधी दक्षिण–पूर्वी क्षेत्रतर्फ अघि बढिरहेको छ । आँधीका कारण घरमा क्षति पुगेको, रुखहरु ढलेको र विद्युत् कटौती भएको गुनासो सो क्षेत्रका वासिन्दाले गरेका छन् ।अहिले पनि वेस्टर्न अष्ट्रेलियाका केही सहरमा ‘रेड अलर्ट’ जारी गरिएको छ । उक्त क्षेत्रका मानिसलाई सुरक्षित रहन सुझाव दिइएको छ । अष्ट्रेलियाले आपतकालीन सेवाका अनुसार १७५ जनाको उद्धार गरिएको छ ।
शक्तिशाली आँधी आउनुभन्दा अगाडि वेस्टर्न अष्ट्रेलियाका प्रिमियर मार्क म्याक्गोवनले पुरानै अवस्थामा फर्किन समय लाग्ने भन्दै सबैलाई धैर्य गर्न आग्रह गरेका छन् ।गत महिना पूर्वी अष्ट्रेलियामा नदी तथा बाँधको सतह बढेर आएको बाढीपछि करिब १८ हजार मानिसहरु विस्थापित भएका थिए ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आँधीबाट भएको क्षतिको राहतका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।