काठमाडाैं – चीनले ताइवान नजिक गरिरहेको सैन्य अभ्यासलाई ‘युद्धको तयारी’ भनी बुधवार घोषणा गरेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवान र त्यहाँको लोकतन्त्रप्रति प्रतिबद्ध रहेको सन्देश दिन अमेरिकाका वरिष्ठ अधिकारीहरू ताइपेइ पुग्न लागेको बेलामा चीनको भनाइ आएको हो ।
चिनियाँ सेनाले नजिकै आएर निरन्तर सैन्य गतिविधि गरिरहेको ताइवानले गुनासो गरेको छ । चीनका लडाकू विमान र बमवर्षक विमानहरू आफ्नो एयर डिफेन्स जोनमा प्रवेश गरेको र चीनको एक विमानवाहक युद्धपोतले अभ्यास गरिरहेको ताइवानले बताएको छ ।
चीनको ताइवान मामिला कार्यालयले ताइवान सरकार तथा पृथक्तावादीहरूले बाहिरी शक्तिसँग मिलेर उत्तेजक गतिविधि गरिरहेको र शान्ति तथा स्थिरतामा क्षति पुर्याएको जनाएको छ ।
‘ताइवानको वर्तमान सुरक्षा स्थितिका कारण तथा राष्ट्रिय सार्वभौमसत्ताको जगेर्नाका लागि चिनियाँ जनमुक्ति सेनाले ताइवान जलसन्धिमा वास्तविक युद्धाभ्यास गर्नु आवश्यक छ,’ प्रवक्ता मा स्याओग्वाङले बताए ।
अमेरिका अन्य मुलुक जस्तै ताइवान सरकारलाई नभई चीन सरकारलाई मान्यता दिन्छ तर ताइपेइको सबभन्दा बलियो समर्थक उही हो ।
अमेरिकाका पूर्व सिनेटर क्रिस डड र पूर्व परराष्ट्र राज्यमन्त्रीहरू रिचर्ड आर्मिटेज तथा जेम्स स्टाइनबर्ग बुधवार ताइवान पुग्दैछन् । ताइवान र त्यहाँको लोकतन्त्रप्रति राष्ट्रपतिको प्रतिबद्धताको व्यक्तिगत सन्देश दिनका लागि उनीहरू त्यहाँ पुग्न लागेको ह्वाइट हाउसका एक अधिकारीले बताए ।