काठमाडौँ – सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बैठक आज बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
ओलीले बोलाएको बैठकमा नेता झलनाथ खनाल-माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन् । ‘महाधिवेशन आयोजक कमिटीको बैठक भनेर बोलाएका छन्’ नेपाल निकट केन्द्रीय सदस्य दिलु पन्तले इकागजसँग भनिन् ‘महाधिवेशन आयोजक कमिटीको बैठक भनेका छन् । हामीलाई आयोजक कमिटी कहिले गठन गरे थाहा छैन् । त्यसैले हामी बैठकमा जाँदैनौँ । केन्द्रीय कमिटी बैठक भनेका भए जान्थ्यौँ ।’त्यस्तै ओली समूहबाट पछिल्लो समय केन्द्रीय सदस्य बनेका सरेश नेपालले आजको बैठक पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाएको इकागजलाई बताए । ‘पार्टी, सरकार र प्रदेशमा केही समस्या छन्’ नेता नेपालले भने ‘त्यसैबारे छलफल गर्न बैठक बोलाइएको हो ।’
एमालेमा पछिल्लो समय आन्तरिक विवाद चुलिएको छ । ओलीले नेता नेपालसहितका केही नेताहरूलाई पार्टीबाट निलम्बन गरेका थिए । त्यसविरुद्ध खनाल-नेपाल समूह ओलीविरुद्ध लागेका थिए ।
विवादले सरकारदेखि पार्टी हुँदै प्रदेशसम्म समस्या उत्पन्न भएको छ । केही दिनअघि कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई समर्थन गरेपछि विवादले फेरि अर्को रुप लिएको छ । आइतबार खनाल-नेपाल समूहले निर्वाचन आयोगमा पत्र बुझाएको छ ।