दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाईडहर नजिकै स्याउली बजारस्थित रोकी राखेको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका बालकहरूको सनाखत भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निवासी भीम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप, सोही ठाउँका सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार रहेका छन् ।लामो समयदेखि पार्किङ गरि राखेको आरजे०१सीसी ०८८५ नम्वरको भारतीय गाडीभित्र उनीहरू शनिबार साँझ मृत भेटिएका थिए । यही बैशाख १६ गतेदेखि घरबाट हराईरहेका ती बालकहरु मृत भेटिएको डिएसपी सिंहले जानकारी दिए ।
ती बालक सम्पर्कविहीन भएपछि अभिभावकहरूले प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । घटनाको बारेमा थप अनुसन्धान गर्न नेपालगन्जबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली बोलाईएको उनले जानकारी दिए ।मृतक बालकहरुको शवलाई पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको छ ।