सल्यान – अक्सिजन अभावमा सल्यानमा एक कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल सल्यानमा उपचारका लागि ल्याएका शारदा नगरपालिका १ श्रीनगरका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिरामीको चाँप बढेकाले तत्काल अक्सिजन दिन नसक्दा संक्रमितको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका प्रमुख डा. भिमकान्त जैसीले स्वीकार गरे ।टाउको दुख्ने, ज्वरो आउने समस्याबाट प्रभावित भई होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो १.३० बजेतिर आफन्तले जिल्ला अस्पताल सल्यानमा ल्याएका थिए । यो सँगै जिल्लामा कोरोना संक्रमितबाट मर्नेको संख्या १२ पुगेको छ ।