स्याङ्जा – स्याङ्जाको पुतलीबजार नगरपालिकाले पालिकाभित्रका कोरोना संक्रमितको मनोबल उच्च बनाउन आयुर्वेदिक औषधी वितरण सुरु गरेको छ ।
नगरपालिकाले जिल्ला सरदमुकाम र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदिक स्वास्थ्य कार्यालयमार्फत औषधी वितरण गर्दै आएको हो ।पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले पछिल्लो समय दोस्रो भेरिएन्टको कोरोना समाजमै फैलिरहेको र यसलाई न्यूनीकरण गर्न आयुर्वेदिक औषधी वितरण गरिएको बताइन् ।नगरप्रमुख क्षेत्रीले पालिकामा हालसम्म २९ जना कोरोना संक्रमित रहेकाले सबै संक्रमितलाई यस्तो औषधी वितरण गरिने जानकारी दिइन् ।
पुतलीबजारमा दोस्रो चरणको कोरोनाबाट २९ जना संक्रमित भएका छन् । कोरोना संक्रमित होम आइसोलेसनमा बस्दै आएको र उनीहरूको स्वास्थ्य सामान्य रहेको पालिकाले जनाएको छ । बिरामीलाई पुतलीबजारको वडा नम्बर १३ बाट आयुर्वेदिक औषधी बाँड्न सुरु गरिएको वडा नम्बर १३ का वडाध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताए ।
नगरपालिकाका स्वास्थ्यकर्मीले संक्रमितको घरघरमै गएर उनीहरूको स्वास्थ्य अवस्था बुझ्दै आएको उनले जानकारी दिए ।