कैलालीमा शनिबार राति कोभिड-१९ संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । राति साढे ७ देखि साढे ११ बजेसम्म ४ घण्टाको अवधिमा ६ जनाको मृत्यु भएको हो ।
उनीहरुमध्ये ३ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, २ जनाको टीकापुर अस्पताल र १ जनाको निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।उपचारको क्रममा धनगढी उपमहागनरपालिका ४ की ४५ वर्षीया महिलाको शनिबार राति ९ बजे र वडा नम्बर १८ का ५० वर्षीया महिलाको साढे ११ बजे मृत्यु भएको छ । शनिबार नै कोरोना पुष्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै, सोही अस्पतालमा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ की ६० वर्षीया महिलाको राति साढे ७ बजे मृत्यु भएको छ । उनलाई यही वैशाख १७ गते कोरोना पुष्टि भएको थियो ।त्यसैगरी टीकापुर अस्पतालमा उपचारको क्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष र सोही नगरपालिकाका अर्का एक ५० वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । एक जनाको साढे ७ बजे र एक जनाको सवा १० बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनीहरु दुबै जनालाई शनिबारनै कोरोना पुष्टि भएको थियो ।
त्यस्तै, निजी अस्पतालमा लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का एक ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको राति पौने १० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।