सप्तरी – नेपालले इजरायल र प्यालेस्टाइनबीच जारी युद्धको तनाव कम गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार साँझ इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनावबारे नेपाल चिन्तित रहेको जनाएको छ।
नेपालले दुवै पक्षलाई तत्काल युद्ध अन्त्य गर्न भनेको छ। मन्त्रालयले दुवै देशले उच्च संयममा अपनाउँदै विध्वंश रोक्न आग्रह गरेको हो ।
‘हामी दुवै पक्षलाई अधिक चोटपटक र विनाशबाट बच्न अधिकतम संयम र शान्त हुन आग्रह गर्दछौं’, नेपालले भनेको छ, ‘शान्तिपूर्ण तरिकाबाट समस्या समाधान गर्न आग्रह गर्दछौं।’
मंगलबार प्यालेस्टाइनी विद्रोही समूह हमासले मंगलबार इजरायलतर्फ सयौं रकेट हानेको थियो । उक्त रकेट इजरायली सेनाले गाँजा क्षेत्रमा विफल बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बुधबार कम्तीमा ४० जनाको मृत्यु भएको छ। जसले जेरुसेलम बाहिरका सहरमा पनि अस्थिरता फैलिएको छ । इजरायली सेनाले ८ सयभन्दा बढी रकेट आफ्नै क्षेत्रमा खसेको जनाउँदै प्रतिरक्षा प्रणालीले २ सय बढी रकेटलाई गाजा क्षेत्रमै फर्काइदिएको जनाएको छ ।
इजरायलमा रहेका नेपाली सुरक्षित रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले सावधानी अपनाएर बस्न पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ ।