०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी-प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लिखित रुपमै लगाएका आरोप सही ठहरिए प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्ने बताएका छन्।

बुधबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोप सही नठहरिए आरोप लगाउने (नेकपाका अर्का अध्यक्ष दाहाल) ले यसको जिम्मेवारी लिएर जवाफदेही हुनुपर्ने समेत बताए। “यो आरोप या त सदर ठहरिनुपर्यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्यो, यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्यो, यसको जवाफदेही लिनुपर्यो”, सरकारी स्वामित्वको पत्रिका गोरखापत्रको अनलाइन संस्करणमा प्रकाशित मन्तव्यको पूर्णपाठमा उल्लेख छ, “यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ।”

दाहालको नेतृत्वमा नेकपाको केन्द्रीय सचिवालयका पाँच जना सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै केही समयअघि ओलीलाई लिखित आग्रह गरेका थिए। ओलीले त्यसको जवाफ दाहाललाई लिखित रुपमै दिएर उपयुक्त समयमा बैठक बस्ने उल्लेख गरेका थिए। त्यसपछि दाहालले सात पृष्ठको अर्को प्रत्युत्तर पत्र ओलीलाई पठाए।

त्यसबाहेक ओलीसहित सचिवालयका सदस्यहरुलाई १९ पृष्ठ लामो एउटा प्रस्ताव पनि दाहालले बुझाएका छन्, जसमा ओलीमाथि भ्रष्टाचारीको संरक्षण गरेको लगायतका गम्भीर आरोप लगाइएको छ। प्रधानमन्त्री ओलीले बुधबारको बैठकमा यी आरोप बोकेरै कोही पनि प्रधानमन्त्री वा पार्टी अध्यक्षको जिम्मेवारीमा बस्न नसक्ने उल्लेख गर्दै पहिले यसको छिनोफानो गर्नुपर्ने बताएका छन्।

ओलीले भनेको यही छिनोफानो गर्नकै लागि तयारी गर्ने भनेर नेकपाको केन्द्रीय सचिवालय बैठक १० दिनका लागि स्थगन गरिएको छ। ओलीले दाहालले आफूमाथि लगाएका प्रत्येक आरोपको लिखित प्रतिवाद गर्ने भन्दै समय मागेअनुसार बैठक १० दिनका लागि स्थगित भएको हो।

“अब बैठकमा जुन विषयमा पहिले छलफल हुनुपर्छ र निष्कर्ष निस्किनुपर्छ, त्यसो नगरिकन अगाडि जान सकिँदैन”, प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, “यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफ पत्र पनि तयार भइसकेको छैन। मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ।” प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोप झुठा र निकृष्ट लाञ्छना भएको उल्लेख गर्दै त्यसलाई आफूले सहने भनेर नसोच्न समेत आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोपको कडा जवाफ दिने तयारीसमेत गरेका छन्। आफूले आरोपको प्रतिवादमा लिखित जवाफ पेस गरेपछि परिस्थिति थप असहज बन्नसक्ने संकेत गर्दै उनले भनेका छन्, “त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीले कुन बाटोबाट जाने च्वाइस गर्नुस्।”

बुधबार दिउँसो सकिएको नेकपा सचिवालय बैठकले अर्को बैठक १० दिनपछि गर्ने निर्णय गर्दै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको समेत मिति तय गरेको थियो। तर, एक दिनपछि मात्र सरकारी सञ्चारमाध्यमबाट प्रधानमन्त्री ओलीको मन्तव्यलाई बाहिर ल्याइनु अर्थपूर्ण मानिएको छ।

प्रधानमन्त्री ओलीको सचिवालयले मन्तव्यलाई ट्रान्सक्राइब गर्न समय लागेकाले ढिलोगरी बाहिर आएको बताएको छ। तर, प्रधानमन्त्री ओलीको यो मन्तव्यका अन्तरवस्तुले नेकपाभित्र अब दाहाल दबाबमा पर्न सक्ने देखाउँछन्।
थप सामग्री

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]