सप्तरी : धुलिखेलमा एकै परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यही परिवारका एक पुरुषको अक्सिजन लेभल घटेपछि बुधबार दिउँसो धुलिखेल अस्पताल पुर्याइयो ।
अस्पतालले अक्सिजनसहितको बेड नभएको भन्दै भर्ना लिन मानेन । परिवारका सदस्य अक्सिजनको जोहोमा लागे । जसोतसो अक्सिजन व्यवस्थापन भएर इमर्जेन्सीमा उनको उपचार थालियो । अक्सिजन लेभल (६४) हेर्दा उनलाई तत्कालै आईसीयूमा राख्नुपर्ने थियो । तर त्यसका लागि ४८ घण्टा कुर्नुपर्यो ।
संक्रमणकै कारण आमा गुमाएकी ललितपुर हात्तीवनकी २४ वर्षीया युवती एक्कासि बेहोस भइन् । संक्रमित उनलाई उपचार गर्न बेड अभाव भएपछि त्यहीं इमर्जेन्सीमा उपचार थालियो । उनलाई पनि झन्डै ४८ घण्टापछि कोभिड वार्डमा सारेर अक्सिजन दिएर राखिएको छ । धुलिखेल अस्पतालका कोभिड समन्वयकर्ता डा. सानुकृष्ण श्रेष्ठले सम्भव भएसम्म इमर्जेन्सी वार्डमा राखेर व्यवस्थापन गरिरहेको बताए ।
‘इमर्जेन्सी नै कोभिड इमर्जेन्सीजस्तो भइसक्यो, आएकालाई अक्सिजन दिएर यतै होल्ड गर्ने गरेका छौं,’ उनले भने, ‘२० वटा बेडसम्मलाई अक्सिजन पाइपबाट अस्पतालकै उत्पादनले पुग्छ, त्योभन्दा बढीलाई फर्काउनुको विकल्प छैन, अक्सिजन नै नभएपछि राख्नुको के अर्थ भयो र ?’ बिरामीको चाप बढेपछि अस्पतालले कुरुवा कक्षमा उपचार थाले पनि हाल अक्सिजन अभावमा भर्ना लिएको छैन ।
बनेपास्थित शिर मेमोरियल अस्पतालले पनि अक्सिजनकै कारण समस्या भइरहेको जनाएको छ । ‘सीसीएमसीले दैनिक १० सिलिन्डरको कोटा तोकिदिएको छ, त्यो लिन पनि हाम्रा कर्मचारी रातभर लाइन बस्नुभएको छ,’ अस्पतालकी मेडिकल निर्देशक डा. एञ्जेला बस्नेतले भनिन्, ‘प्रि–कोभिड र कोभिड संक्रमित गरेर लगभग ५० जनाको उपचार भइरहेको छ, ५० जनालाई १० सिलिन्डरले कसरी पुग्छ ?’ अस्पतालस्थित प्लान्टमा उत्पादित अक्सिजन पर्याप्त नभएको भन्दै उनले दिनुपर्ने अक्सिजनको मात्रा घटाएर भए पनि जेनतेन व्यवस्थापन गरिरहेको बताइन् ।
जिल्लामै अक्सिजन ग्यास उद्योग भए पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयअनुसार कोटा प्रणालीका आधारमै वितरण भइरहेकोले दुवै अस्पतालले पर्याप्त अक्सिजन पाउन नसकेका हुन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उद्योगहरूलाई साबिककै परीमाणमा अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको छ । यद्यपि शुक्रबार साँझसम्म त्यो कार्यान्वयनमा आइसकेको छैन ।
‘अहिलेसम्म सीसीएमसीले निर्धारण गरेको दैनिक कोटाकै आधारमा वितरण गरिरहेका छौं, उत्पादन पनि घटेको छ,’ पनौतीस्थित नवज्योति ग्यासेस प्रालिका प्रबन्धक प्रकाश थापाले भने, ‘चिकित्सकको सिफारिस ल्याउनेलाई पनि थोरै–थोरै उपलब्ध गराउने गरेका छौं ।’ दैनिक १५ सयदेखि १७ सय सिलिन्डरको माग भए पनि ८५० देखि ९ सय सिलिन्डर अक्सिजन मात्रै उत्पादन भइरहेको उद्योगले जनाएको छ ।