नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा राती साढे पाँच घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा राती साढे १२ बजेदेखि बिहान ६ बजेसम्ममा ६ जनाको मृत्यु भएको हो।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर गरेका उनलाई जेठ १ गते भर्ना गरिएको थियो। उनको राती १२:३० बजे मृत्यु भएको छ।बर्दिया मधुवन नगरपालिका वडा नम्बर ९ का ७० वर्षीया महिलाको राती २:३० बजे मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो।
सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का ५९ वर्षीय पुरुषको बिहान ४:३० बजे मृत्यु भएको छ। बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ६ का ८० वर्षीय पुरुषको बिहान ५:३० बजे मृत्यु भएको छ। जेठ १ गते भर्ना भएका उनको २ गते पीसीआर गरिएको थियो।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४० वर्षीया महिलाको बिहान ५:३० बजे मृत्यु भएको छ। वैशाख २७ गते पीसीआर गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो।
कोहलपुर नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो।
बाँकेमा दुई ठूला अस्पतालमा पछिल्लो दिनमा बाहिरी जिल्लाका संक्रमितको धेरै मृत्यु भइरहेको छ। योसँगै कोरोनाबाट बाँकेमा २ सय ३९ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका एक सय ९० जनाको मृत्यु भएको छ।