सप्तरी – सप्तकोशी नदीमा डुंगाको प्रयोग गरी तस्करीका सामान ओसार पोसार कार्यमा बृद्धि भएको छ ।
केही दिन यता एकपछि अर्को गरि डुंगाबाट लाखौंको तस्करीका सामान बरामद हुन थालेको छ । नेपालमा महगो मुल्यमा बिक्रि हुने सरसामान भारतीय बजारबाट ल्याउने र भारतीय बजारमा महगो मुल्यमा बिक्रि हुने सरसामान यताबाट डुंगामा राखी लैजाने क्रम बढेपछि प्रहरीले सक्रियता समेत बढाएको छ ।
यसैक्रममा पछिल्लो पटक अबैध रुपमा भारतबाट डुंगामा लोड गरि ल्याउँदै गरेको ८ लाख ९३ हजार मुल्य बराबरको सरसामान प्रहरीले जफत गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित सप्तकोशी नदी हुँदै भारतबाट अबैध रुपमा डुंगामा लोड गरि ल्याउँदै गरेको सो परिमाणको बाला र चुरा सेट, खम्बा फुल र सप्तरंगी कागजलगायतका सामाग्रि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिनु भयो ।
केही दिनयता डुंगाको प्रयोग तस्कारीमा हुन थालेको खबर आएपछि सादा पोशाकमा सुरक्षाकर्मी समेत निगरानीका लागि परिचालन गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताउनु भयो । दुई महिनाको अवधीमा डुंगाबाट तस्करी गरी ओसार पोसार गर्न लागिएका १९ लाख भन्दा बढीका सरसामान जफत गरी भन्सार कार्यालयलाई बुझाइएको उहाँको भनाई छ ।बुधबारै सोही नगरपालिकाको वडा नं. १४ स्थित हनुमाननगर–कुनौली सडक खण्डमा चेकजाँचको क्रममा भारतबाट भन्सार छलेर प्रदेश नं. १–०४–०००१ ह. ००७३ नम्बरको अटोरिक्सामा लुकाई छिपाई ल्याउँदै गरेको ३ लाख ८ हजार मुल्य बराबरको बाला र चुरा सेट प्रहरीले बरामद गरेको छ ।
सो क्रममा अटो रिक्सा चालक सोही नगरपालिका निवासी २० वर्षीय सेवाज खंग र समानधनी महोत्तरीको गौशाला नगरपालिका २ निवासी ३६ वर्षीय सन्तोष कुमार साह पक्राउ परेका छन् । यसरी बरामद गरिएको तस्कारीका सामान भन्सार कार्यालय चलान गरी पक्राउ परेका व्यक्ति उपर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।