सप्तरी – कोरोना भाइरस संक्रमणको पहिलो लहरमा आफ्ना बुवा गुमाएका छोराको दोस्रो लहरमा मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ३२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको थियो । उहाँको विराटनगरस्थित नोबेल मेडिकलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक डम्बर गुप्ताले जानकारी दिनु भयो ।कञ्चनरुप नगरपालिका घर भएका उनी विराटनगरमै बसेर कुमारी बैंकमा काम गर्दै आएका थिए । यसअघि गत कात्तिक ४ मा उहाँका बुवाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा उहााको मृत्यु भएको थियो ।
उहाँको बुवालाई त्यस बेला अस्पताल भर्ना गराउनेदेखि लिएर रकमको जोहो गर्नेसम्मको काम उहाँका छोराले नै गरेका थिए । त्यस बेला उपचार खर्च वापतको २ लाख ५० हजार तिर्न र थप ३ लाख रुपैयाँ धरौटी राख्नभन्दा नसकेकै कारण आफ्नो बुवाको मृत्यु भएको उहाँले सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।रकम तिर्न नसक्दा बुवाको मृत्यु भएपछि अस्पतालले शव दिन पनि आनाकानी गर्दा उहाँले आफ्नो र दाजुको बैंक खातामा रहेको रकम जोडजाड गरेर अस्पताललाई २ लाखको चेक र फार्मेसीलाई पनि चेक दिएपछि शव ल्याउन दिइएको थियो ।
एक वर्ष नबित्दै बुवा छोराको मृत्यु भएपछि गुप्ता परिवार समस्यामा परेको छ । मृतकका एक जना दाजु भएपनि बेरोजगार भएका कारण घरका सदस्यलाई छाक टार्न पनि समस्या हुने स्थानीयले बताउनु भयो ।