सल्यान – जिल्लाको कपूरकोट गाउँपालिका–३ मा होम आइसोलेसनमा बसेका दुई जनाको मृत्यु भएको छ । वर्ष ६८ र वर्ष ७० का दुई पुरुषको मृत्यु भएको हो ।
केही दिनअघि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए । दुवै जनाको अक्सिजनको अभावमा मृत्यु भएको हुन सक्ने गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्रकुमार सेनले बताए । होम आइसोलेसनमा बसेकालाई स्याहार र पोसिलो आहाराको कमी देखिएको उनले जानकारी गराए ।अहिलेसम्म होम आइसोलेसनमा बसेका नौ जनाले ज्यान गुमाइसकेका स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका कोरोना संयोजक रिखाराम पुनले कोरोनाबाट अहिलेसम्म जिल्लामा मृत्यु हुनेको संख्या ३६ पुगेको बताए । जिल्लाभित्र ३२ र बाहिर चार जनाको मृत्यु भएको उनले जानकारी गराए ।
उनका अनुसार जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजार १ सय नाघेको छ जसमध्ये सक्रिय संक्रमित ५ सय ३२ जना छन् । अहिले जिल्ला अस्पताल सल्यानमा २९ र संस्थागत आइसोलेसनमा २९ जनाले उपचार गराइरहेका छन भने ५ सयभन्दा बढी होम आइसोलेसनमा बस्न बाध्य छन् । कोरोनाबाट एक महिनाको अवधिमा झन्डै ५ सय जना निको भएको उनको भनाइ छ ।