अब अदालतको आशा छ, ओलीको नेतृत्वमा चुनाव हुँदैन
विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा सत्ताकब्जा गरेको बताएका छन् ।
संविधानलाई कुल्चने काम विगतदेखि नै मिलेमतोमा हुँदै आएकोमा अहिले भने संविधान च्यात्ने काम भएको आरोप लगाए । कोइराला निवास विराटनगरका आज पत्रकारहरुसँग संविधान नष्ट गर्ने काम राष्ट्रपतिकै अगुवाईमा भएको आरोप लगाए । उनले भने, “खासमा जनआन्दोलन ताका हामी जेलमा भएका बेला अहिलेका राष्ट्रपति र प्रधानमन्त्री हाम्रो हालखबर बुझ्न आउनु भएको थियो । उतिबेलै उहाँहरुले गणतन्त्र चाहिंदैन भन्नु भएको हो । अहिले उहाँहरुको कदमले त्यो कुरालाई पुष्टि गरेको छ ।” कोइरालाले अब संविधान र गणतन्त्र बचाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको जिकिर गरे ।
गणतन्त्र सकिने भयो भन्ने बुझेरै पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन दलको तर्फबाट प्रधानमन्त्रीमा दाबी गरेर सांसदको हस्ताक्षर सितल निवासमा बुझाएको उनले बताए । व्यवस्था र संविधान बचाउन अब अदालतको मात्र भरोसा रहेको भन्दै कोइरालाले हस्ताक्षर गरेर सितल निवासमा निवेदन दिएका दलका सांसदहरुले नै अब सर्वोच्च अदालतमा रिट हाल्नुपर्ने सुझाव दिए । “अदालतले फैसाल गरी कसको पक्षमा वहुमत छ भन्ने टुंगो संसदलाई दिलाउनु पर्छ,” कोइरालाले भने, “नत्र ओलीलाई दलहरुले अविश्वास गरेका छन् । देश र जनताले समेत नपत्याएको बेला परिस्थिति झन् खराब भएर जानेछ ।” कोइरालाले कांग्रेस चुनावको पक्षमा रहेको तर ओलीको नेतृत्वमा हुने चुनाव भरोसा गर्न नसकिने बताउँदै त्यो स्वतन्त्र र निष्पक्ष हुन नसक्ने बताए । कोइरालाले राष्ट्रपति एउटा उच्च र सम्मानयोग्य संस्था भएकोमा अहिलेको कदमले यसमाथि अविश्वास बढेको र यसको सर्वोच्चता बचाउन चाहेको भए संसदबाटै सबै टुंगो लगाउन सक्ने अवस्था रहेको सुनाए । भने, “तर, राष्ट्रपतिबाट विपरीत कदम चालियो ।” राष्ट्रपतिले दुईवटै दाबीमा वहुमत छैन भन्नु भनेको संविधानलाई च्यात्ने काम भएको उनको भनाइ छ ।
गणतन्त्र ल्याउँदा कसैले पनि राष्ट्रपति र प्रधानमन्त्रीले यस्तो कदम चाल्छन् होला भनेर कसैले पनि कल्पनासम्म गर्न नसकेको बताए । उनले भने, “गणतन्त्र र जनताको शासनमा राष्ट्रपतिबाट यस्तो कदमको अपेक्षा गर्न सकिँदैन ।” उनले मुलुकलाई चुनावमा लैजान कोरोना कहरमा कठिन देखिएकाले पहिले ठूलो परिमाणमा खोप अभियान संचालन गर्न सुझाव दिए ।