अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामग्री बोकेको कार्गो विमान काठमाडौं आइपुगेको छ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपालका लागि आपत्कालीन स्वास्थ्य सामग्री पठाएको हो।
काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीट मार्फत अमेरिकी सहयोगको पहिलो खेप काठमाडौं आइपुगेको र बाँकी आउने क्रममा रहेको जनाएको छ।
स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सर्जिकल मास्क, फेसशिल्ड तथा पन्जा लगायतका सामग्री यो विमानले ल्याएको छ। महामारीविरुद्धको लडाइँमा अमेरिकी सहायताले सहयोग गर्ने पनि अमेरिकाले जनाएको छ।
यूएसएडले बिहीबार नेपाललाई कोभिड–१९ को महामारीसँग जुध्न आपत्कालीन सहयोगको घोषणा गरेको थियो। पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर (करीब रू.१ अर्ब ७५ करोड) बराबरको सहयोग घोषणा गरेको छ। महामारीसँग जुध्नका लागि यूएसएडले बितेका १५ महीनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको जनाएको छ।