विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएपछि कोरोना संक्रमितको उपचारमा समस्या हुन थालेको छ ।
अक्सिजन प्लान्ट बिग्रिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले सिलिन्डरको उपलब्धताको आधारमा मात्र संक्रमित बिरामी भर्ना लिने जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले आफूसँग उपलब्ध भएको अक्सिजनको आधारमा मात्र नयाँ बिरामी भर्ना लिएर उपचार गर्ने गरेको बताए ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा प्रदेश १ र २ बाट कोभिडका जटिल प्रकृतिका बिरामी उपचारका लागि आउने गरेका छन् ।
प्लान्टमा प्राविधिक समस्याको कारण अक्सिजन पर्याप्त उत्पादन हुन नसकेको उल्लेख गर्दै सहायक प्रवक्ता पोखरेलले बिरामी उपचारमा चाहिने अक्सिजनलाई अक्सिजन उत्पादक कम्पनीहरूबाट सिलिन्डरमा भरेर आपूर्ति गरिरहेको जानकारी दिएका छन् ।
प्रतिष्ठानको प्रति मिनेट १६ लिटर क्षमता उत्पादन हुने अक्सिजन प्लान्ट बिहीबार यतादेखि बिग्रिएको थियो । हाल प्रति मिनेट अढाइ लिटरको हाराहारीमा मात्रै अक्सिजन उत्पादन भइरहेको छ ।
प्रतिष्ठान पूर्वको रेफरल सेन्टरको रुपमा परिचित छ । यहाँ दैनिक कोरोना मात्रै हैन, अन्य बिरामी पनि रिफर भएर आउने गर्दछन् । विपी प्रतिष्ठानमा आइसियु, एचडियु बेडसहित सय बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा रहेको छ ।
जहाँ १५ वटा आइसियु भनी दाबी गरिएको छ । तर, प्रतिष्ठान स्रोतका अनुसार जम्मा ७ वटा मात्रै आइसियु रहेका छन् । यसै गरी २५ वटा एचडियु बेड रहेका छन् भने अन्य अक्सिजन जडान गरिएको बेड छन् ।
अक्सिजन प्लान्ट सुचारु हुँदा दैनिक ७ देखि ८ जना कोरोना संक्रमित भर्ना हुँदै आएका थिए ।