काठमाडौँ – सत्तारुढ नेकपा एमालेभित्र विवाद चलिरहेका बेला निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको पार्टी दर्ताका लागि निवेदन परेको छ ।
एमाले निकट नेता जीवन राईले आफ्नो नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । राईको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।
उनले एक महिना अघि नै पार्टी दर्ताका लागि निवेदन दिएको बताउदै ४५ दिनपछि दर्ता प्रमाणपत्र लिन आउन आयोगले आग्रह गरेको बताएका छन् । साथै नयाँ पार्टीको चुनाव चिन्ह कलम छानिएको छ ।नयाँ पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् । निर्वाचन आयोग स्रोतले पनि नयाँ पार्टी दर्ताको निवेदन परेको पुष्टि गरेको छ ।
एमालेको नेपाल पक्षले नयाँ पार्टी खोल्ने तयारी गरिरहेको चर्चा चलिरहेको बेला एमालेकै कार्यकर्ताले पार्टी दर्ता गरेपछि एमाले अन्तत: विभाजन तर्फ गएको विश्लेषण गरिएको छ ।