सप्तरी – कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। उनीहरुले रुघाखोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न सुझाव दिएका हुन्।
रुघा र ज्वरो मात्रै भएकालाई पनि कोभिड–१९ संक्रमण पुष्टि भएको देखिन्छ। यस्ता समस्या देखिएमा कोभिड परीक्षण गर्न बेलैमा नजिकैको अस्पताल लैजान जुम्लाबासीलाई सुझाव दिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटा सामान्य लक्षण हुँदै उपचार गराएमा निको हुने बताउँछन्। उनले भने, ‘तर समस्या बढेपछि बचाउन नै गाह्रो पर्न सक्छ। रुघाखोकी वा ज्वरो त हो भनेर घरमा नबस्नु होला। स्वास्थ्यकर्मीको परामर्श लिएर कोभिड परिक्षण गर्नुहोला। ’
छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। ‘अहिले रुघाखोकी र ज्वरो आएका हरेक पाँच जनालाई कोभिड–१९ परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको छ। यो अवस्था हेर्दा रुघाखोकी र ज्वरो आएका हरेक नागरिक कोभिड–१९ संक्रमति हुन् भन्ने सहजै बुझ्न जरुरी छ,’ उनले भने,‘कोरोनालाई खेलाँची नठानौँ। समयमै सचेत बनेर कोरोना विरुद्धको लडाइमा सामेल बनौँ।’’पहिलो लहरमा कोभिड–१९ ले युवालाई कम प्रभाव पारेको थियो। दोस्रो लहरमा धेरै युवालाई समस्यामा पारेको छ। अझ तेस्रो लहरमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेको छ,’ प्रमुख सापकोटाले थपे,‘यो बेला थप स्वास्थ्य सजगता अपनाउनुपर्ने देखिन्छ।’जुम्लामा कोभिड–१९ संक्रमितको संख्या ३४२ पुगेको छ। यसमध्ये १२० जनालाई निको भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले जानकारी दिए।
उनले भने,‘कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न जरुरी छ। घरबाहिर निस्कँदा मास्क सेनिटाइजरको प्रयोग गर्ने, नियमित साबुन पानीले हात धुने र सामाजिक तथा व्यक्तिगत दुरी अनिवार्य रुपमा कायम गर्नुपर्छ। यो बिषयमा जुम्लाबासीलाई सचेत रहन आग्रह गर्दछौँ।’