काठमाडौं – लुम्बिनि प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी ओली माथी अढाई दशक अघि गिरिजाप्रसाद कोईरालालाई जस्तै घेराबन्दी गर्ने प्रयास भएको दाबी गर्नुभएको छ ।
सामाजिक संञ्जालमा फेसबुकमा एक स्टाटस राख्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टी भित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको नभएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, बरु प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ । मुख्यमन्त्री पोखरेलले लेख्नु भएको छ– अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिबेला उहाँको तिब्र बिरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो । मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीबाटो हिड्न लागिरहेको भान भइरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टी भित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । बरु प्रमुख नेताहरुको बढ्दो घेरावन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूती बढ्दो छ ।
आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र ब्झिरहेका छन् । अनि यसबाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् । दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपीशर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासबाट शिक्षा लेउ र सही बाटोमा अघि बढौँ ।