काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती र किरात समुदायको उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले मौलिक चाडपर्व, धर्म, संस्कृति अमुल्य सम्पत्ति भएको बताउनुभएको छ । ‘मौलिक चाडपर्व, धर्म, संस्कृति, रितिरिवाज र मुल्य मान्यता हामी नेपालीहरूका अमुल्य सम्पत्ति हुन् । यिनै संस्कार र सभ्यताहरूले हामीलाई एकताबद्व बनाउन प्रेरित गरिरहेको छ,’ सन्देशमा भनिएको छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको सही अर्थमा परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सकिने उहाँको विश्वास छ ।विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीबाट मुक्त दिलाउन सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेको र यो लडाईंमा साथ दिन आग्रह पनि गर्नुभएको छ ।
जारी सन्देशमा भनिएको छ– ‘विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीबाट सम्पूर्ण नेपाली र सिंगो मानवजगतले छिट्टै मुक्ति पाउनेछौं भन्ने कामना गर्न चाहन्छु । जनतालाई कोरोना भाइरसबाट मुक्त दिलाउन सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेकाले यो लडाईंमा साथ दिन म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल पनि गर्न चाहन्छु ।