सप्तरी – ब्राजिलियन डिफेन्डर डेविड लुइजले प्रशिक्षणका दौरान स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आर्सनल आएका मिडफिल्डर ड्यानी सेबालोसमाथि हातपात गरेका छन् ।
गत शुक्रबार आर्सनलको प्रशिक्षण मैदानमा भएको अभ्यास खेलपछि लुइजले सेबालोसलाई मुक्का प्रहार गरेका हुन् । प्रशिक्षक मिकेल आर्टेटाले खेल सकिएको सिठी फुकेलगत्तै लुइजले सेबालोसको नाकमा मुक्का प्रहार गरेका थिए । मुक्का खाएपछि सेबालोसको नाकबाट रगत आएसँगै उनी लुइजमाथि झम्टिएका थिए । तर अन्य खेलाडीले दुई जनालाई भिड्नबाट रोके ।
अन्य खेलाडी मैदानमा रहेर अन्य कार्य पूरा गर्दा दुई खेलाडीलाई भने तरुन्त घर पठाइएको थियो । आर्सनलले त्यसपछि तीन दिन छुट्टि दिएकाले मंगलबार मात्र सबै खेलाडी जम्मा भएका थिए । प्रशिक्षक आर्टेटाले दुवै खेलाडीलाई टोलीको अगाडी माफी माग्न लगाएका थिए । त्यसपछि दुवै खेलाडीलाई एक अर्कासँग छलफल गरेर स्थिति ठिक पार्न निर्देशन दिइएको थियो ।
सेबालोस यसअघि पनि आर्सनलका फरवार्ड एडी एनकेटियासँग असहमति राखेपछि भनाभन परेको थियो । लगातर दोस्रो सिजन रियल म्याड्रिडबाट लोनमा आएका उनले यस सिजन भने अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् ।