विराटनगर – कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१ की ५९ वर्षीया महिला, विराटनगर–५ का ६५ वर्षीय पुरुष, झापको दमक–८ की ५८ वर्षीया महिला, सप्तरीको भारदह–३ का ५० वर्षीय पुरुष, सप्तरीका ६० वर्षीय पुरुष र सिरहाको मिर्चैया नगरपालिका–१ का २७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।
उपचार केन्द्रको ट्रान्सफर्मरमा बिहीबार साँझदेखि समस्या आएपछि विद्युत् आपूर्ति ठप्प भएको थियो । विद्युत् आप्रर्ति ठप्प भएसँगै उपचार केन्द्रको जेरनेटरको स्वचालित प्रणाली बिग्रेको थियो । त्यसैले विद्युत् आपूर्तिमा भएको समस्याले उपचार केन्द्रमा उपचाररत संक्रमितको मृत्यु भएको आशंका गरिएको छ ।
उपचार केन्द्रका सूचना अधिकारी राजवंशीले ट्रान्सफर्मरमा समस्या आएपछि जेनरेटरको स्वचालित प्रणाली बिग्रेको स्वीकार गरे । तर उपचार केन्द्रमा विद्युत् आपूर्ति नरोकिएको उनको दाबी छ । राजवंशीले २ घण्टा ब्याकअपका लागि यूपीएस रहेको बताए ।जेनेरेटरको स्वचालित प्रणाली बिग्रेदेखि अहिलेसम्म २ जना कर्मचारी खटाएर विद्युत् जानेबित्तिकै जेनेरेटर चलाउन लगाइरहेको बताए ।