नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् ।
पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् ।शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेका हुन् । तथापि उनले ती नेताहरुको नाम भने लिएका छैनन् । ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो’ एमाले नेता गौतम भन्छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’
गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै नेता गौतमले तीनै नेतालाई महानायकका रुपमा सम्झेका छन् ।‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो,’ गौतम भन्छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’
एमाले नेता गौतमले आज १४ औं गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।
को थिए गणतन्त्रसँग असहमत ?
वामदेव गौतमले नाम नलिई एमालेका तीनजना नेता गणतन्त्रको विपक्षमा रहेको बताएपछि यसबारे हामीले अन्य एमाले नेताहरुसँग यसबारे चासो राख्यौं ।वामदेव निकट एक नेताका अनुसार गौतमले ‘चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता’ भनेर केपी शर्मा ओली, सीपी मैनाली र राधाकृष्ण मैनालीलाई भन्न खोजेका हुन् ।
नेकपा एमालेले २०६२ साल साउनमा आयोजित बैठकबाट गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो । त्यतिबेला एमालेका राधाकृष्ण मैनाली एमाले छाडेर ज्ञानेन्द्रको मन्त्रिमण्डलमै सहभागी भइसकेका थिए । झापा आन्दोलनका अर्का अगुवा सीपी मैनालीले भने ०५६ सालअघि नै एमाले छाडेर माले पुनर्गठन गरिसकेका थिए । चर्चित झापा संघर्षका मुख्य नेता केपी ओली एकजना मात्रै एमालेमा बचेका थिए ।एमालेको केन्द्रीय कमिटीमा तत्काल गणतन्त्रमा जाने संघर्षको नारा तय गर्नुपर्छ भन्ने प्रस्ताव राख्दाखेरि केपी ओलीले त्यसमा असहमति जनाएको तर नोट अफ डिसेन्टचाहिँ नलेखेको नेताहरु बताउँछन् । तर, त्यसबेला ओलीको निकट मानिने विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र मुकुन्द न्यौपानेले गणतन्त्रमा जाने प्रस्तावको विपक्षमा नोट अफ डिसेन्ट लेखेको एमालेका एक नेताले जानकारी दिए ।सो बैठकमा अर्का नेता झलनाथ खनालले ‘पूर्ण लोकतन्त्र’ को प्रस्ताव गरेका थिए । तर, बैठकले त्यसलाई अस्वीकार गर्दै गणतन्त्रमा जाने निर्णय गरेको थियो । त्यसबेला महासचिव माधवकुमार नेपाललाई साहना प्रधान र वामदेव गौतम लगायतका नेताहरुले साथ दिएपछि गणतन्त्रको प्रस्ताव बहुमतबाट पारित भएको थियो ।
वामदेव गौतमले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने जिम्मा माधव नेपालले ईश्वर पोखरेललाई दिएका थिए ।