बैतडी – दुई सातायता बैतडीमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो साता संक्रमण ओरालो लागिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
‘दुई हप्ता अगाडि परीक्षण गरिएका ६० प्रतिशत जतिमा कोरोना देखिएको थियो,’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भने, ‘एउटै टोलमा १७ नमुना जाँच गर्दा १४ वटासम्म पोजेटिभ आएको थियो । अहिले करिब २ सय वटा स्याम्पल जाँच गर्दा ५०/६० जनामा मात्र संक्रमण देखिएको छ ।’संक्रमण देखिएकामा लक्षण पनि कम भइरहेको उनले बताए । शनिबारसम्म ६ सय ३ जना सक्रिय संक्रमित छन् । जिल्ला स्वास्थ्य प्रमुख भट्टका अनुसार अहिले सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ पनि बढाएका छन् । ‘परीक्षणको लागि नमुना संकलन पनि धेरै भइरहेको छ, परीक्षण गरिएकामा पोजिटिभको संख्या कम रहेकोले संक्रमण दर अलि कम भएको अनुमान गरिएको हो,’ उनले भने ।
सुरुवाती चरणमा संक्रमितको मृत्यु, अस्पताल भर्ना जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेकोमा पछिल्लो साता घटेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । अस्पताल प्रमुख डा. वसन्तराज जोशीका अनुसार पछिल्लो साता भर्ना हुनेहरूको अवस्था पनि राम्रो रहेको र रेफर पनि कसैलाई गर्न नपरेको उनले बताए । ‘अस्पतालमा भर्ना भएकामध्ये दिनकै २ जनासम्म डिस्चार्ज भएर घर गएका छन् । पहिलेको भन्दा भर्ना हुने दर भने घटेको छ,’ डा. जोशीले भने । शनिबार अस्पतालमा १० जना संक्रमितको उपचार भइरहेको छ । भारतबाट आउनेहरूमा पनि अहिले संक्रमण कम देखिएको उनले बताए । पाँच दिन यताको रेकर्डमा पारिबाट आएका एक जनामा पनि कोरोना नदेखिएको उनले बताए ।
तराईबाट भित्रनेबाट जोखिम हुनसक्ने भन्दै जिल्लाको तराई आवतजावत गर्ने मुख्य नाका खोड्पेमा पनि हेल्थ डेस्क स्थापना गर्न लागिएको छ । जिल्ला कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले खोड्पेमा हेल्थ डेक्स स्थापना गरेर तराईबाट आउने सबैको कोरोना परीक्षण गरिने निर्णय गरेको छ ।