काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिकाहरु बढी मात्रामा संक्रमित हुनसक्ने भएकाले अस्पतालहरुलाई आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
मन्त्रालयका महाशाखा प्रमुख डा.मदनकुमार उपाध्यायद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्खुम हुँदै गएको अवस्थामा पुनस् दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबु भित्रै रहनु पुगेको छ ।’‘प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौड र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी प्रौढ र युवा लक्षित मात्र हुनु पुगेको छ, विज्ञप्तीमा भनिएको छ–‘दोस्रो लहर जस्तै पुनस् तेस्रो, चौथो लहर आउने सक्ने र त्यसबेला बालबालिकाहरु बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ । साथै वैकल्पिक प्राणवायु (अक्सिजन) को व्यवस्थापन समेत गर्नु हुन अनुरोध छ ।’
मन्त्रालयले उक्त अनुरोधसहितको विज्ञप्तीमा नेपालका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरु, सरकारी, नीजि, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई समेत सम्बोधन गरेको छ ।