सप्तरी – सप्तरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राजविराजका थप दुई जना संक्रमित पुरुषको मृत्यु भएको हो ।
सप्तरीको राजविराज नगरपालिका वडा न.–९ का ५५ र वडा नम्वर २ का ६३ वर्षीय पुरुषको मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।उनका अनुसार जेठ २१ गते संक्रमण देखिएको ५५ वर्षीय पुरुषको हिजो नोबेल शिक्षण अस्पतालमा र जेठ २० गते संक्रमण देखिएको ६३ वर्षीय पुरुषको पनि हिजै गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको छ ।
योसँगै सप्तरीमा दोस्रो लहर (वैशाख ३ गतेपछि)को कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने यसअघि पहिलो लहर (चैत्र ३१ गतेसम्म)मा ४१ जनाको मृत्यु भएको थियो । हाल सप्तरीमा ७९८ जना सक्रिय संक्रमित रहेका छन् ।