संक्रमणबाट सबैभन्दा बढी खाडाचक्र नगरपालिका प्रभावित
कालीकोट – वैशाख पहिलो सातादेखि सुरु भएको दोस्रो भेरिएन्टको कोरोनाबाट हिमाली जिल्ला कालीकोटमा संक्रमित हुनेको संख्या झन्डै १५ सय पुगेको छ । शुक्रबारसम्म संक्रमितको संख्या १ हजार ४ सय ९० पुगेको छ ।
कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् । शुक्रबार केही स्थानीय तहमा गरिएको परीक्षणको रिपोर्ट नआएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । समुदायस्तरमा संक्रमण फैलिएपछि संक्रमितको संख्या बढेको हो । कोरोनाबाट रास्कोट–५, शुभकालिका–८, सान्नीविणी–६ र नरहरिनाथ गाउँपालिकाका १/१ जना पुरुषको मृत्यु भएको छ त्यस्तै, तिलागुफा नगरपालिका–३ का एक पुरुष र ११ नम्बर वडाकी एक महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । तीन जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा र ३ जनाको जिल्लाकै संस्थागत आइसोलेसनमा उपचारका क्रममा ज्यान गएको हो । संक्रमणबाट सबैभन्दा बढी खाडाचक्र नगरपालिका प्र्रभावित छ । खाडाचक्रमा संक्रमित हुनेको संख्या ८ सय नाघेको छ ।
तर आर्थिक वर्ष सकिने बेला भएकाले स्थानीय तहहरू असारे विकासमा सक्रिय हुन थालेका छन् । सबैजसो पालिकाले प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमलाई वडावडामा कार्यान्वयन गरिरहेका छन् । अन्य विकास निर्माणका कामको पनि सम्झौता गरेर प्रक्रिया अघि बढाइएको खाडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए ।
१८ लाखको सामग्री
कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न सेभ द चिल्ड्रेनले जिल्ला अस्पतालसहित ३ स्वास्थ्य संस्थालाई करिब १८ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्ला अस्पतालको मागअनुसार सामान खरिद गरेर बिहीबार हस्तान्तरण गरिएको निमित्त स्वास्थ्य सेवा प्रमुख कटकबहादुर महतले बताए । उनका अनुसार अस्पताललाई आधुनिक बेडसहितका स्वास्थ्य सामग्री सहयोग भएको हो ।
त्यस्तै, शुभकालिका गाउँपालिका, तिलागुफा नगरपालिका र खाडाचक्र नगरपालिकाका स्वास्थ्य संस्थालाई विभिन्न सामग्री दिइएको संस्थाले जनाएको छ । कोरोना परीक्षण गर्ने एन्टिजेन किट, अक्सिजन कन्सेन्ट्रेटर, पल्स अक्टिमिटर, बेड, युटिलिटी ग्लोब्सलगायत सामग्री दिइएको संस्थाका संयोजक बाले विश्वकर्माले बताए ।