सप्तरी – विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमित एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–५ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ११ बजेतिर ज्यान गएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या रहेको जानकारी बस्नेतले दिए ।
मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भन्ने बारेमा केही खुल्न नसकेको उनको भनाइ छ ।