जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले झण्डावाला गाडीलाई लखेटेर मन्त्री कुट्ने समय आउन लागेको बताएका छन् ।
शनिबार नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकार कोरोनाविरुद्धको लडाइँमा असफल भएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।उनले भने, ‘कोरोनाको पहिलो तथा दोस्रो लहरमा बढी वृद्धवृद्धाले ज्यान गुमाएकाले जनता चुप लागेर बसे, तर अब आउने तेस्रो लहरले बालबालिकाको ज्यान जान्छ । यस लहरमा जनताले झण्डावाला गाडीलाई लखेटेर मन्त्रीलाई कुट्छन् ।’
तेस्रो लहरबाट जनतालाई जोगाउन सरकारले कुनै पूर्वतयारी नगरेकोप्रति आक्रोश जनाउँदै सांसद महतोले भने, ‘अहिले नै किन पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री खरिद गरिरहेको छैन ? के सरकारले कमिसन खानका लागि त्यो समय पर्खेर बसेको हो ?’तेस्रो लहर आएपछि स्वास्थ्य सामग्री खरिदको नाममा भ्रष्टाचार बढ्ने कुरा पनि निश्चित रहेको उनको दाबी थियो ।प्रदेशको नीति तथा कार्यक्रम प्रत्येक वर्ष आउने गरेको र आफूलाई प्रत्येक वर्ष यो गीताको उपदेश जस्तो लाग्ने गरेको टिप्पणी समेत गरे । उनले भने, ‘गीताको उपदेश पालना गरे धेरै राम्रो, नगरे केही पनि हुने होइन ।’
उनले विगतमा आएको बजेट समेत नीति तथा कार्यक्रमको विपरीत आएकोले यो झुठको पुलिन्दा मात्र रहेको आरोप लगाए । तीनदेखि चार दिनमा बजेट आउँदा सबै कुरा छर्लंग हुने र सरकारको विगतका गतिविधिलाई दृष्टिगत गर्दा नीति तथा कार्यक्रमको हाउसमै धज्जी उड्ने निश्चित रहेको उनले दाबी गरे ।